७ बैशाख २०८१, शुक्रबार

‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेकोमा खानेपानी मन्त्री थापाले मागे माफी


मणि थापा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले एक कार्यक्रममा भाषण गर्दा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेकोमा माफी मागेका छन् । हिजो शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा उनले ‘नेपाल सरकार’ भन्नुपर्नेमा झुक्किएर ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए ।

भूलवस श्री ५ को सरकार भनेपछि तत्काल त्यसलाई सच्याएको बताउदै मन्त्री थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्‍नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।’

उनले थप्दै लेखेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

पूर्वमाओवादी नेता मणि थापा हाल ओली समूहमा लागेर खानेपानी मन्त्री बनेका छन् । उनको सम्बोधनको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !