७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँग माग्यो थप समय


निर्वाचन आयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिई पत्र मात्र बुझाएर फर्किएका छन् । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन सम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई आज बोलाएको थियो ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आयोगले सुचना प्रकाशन गर्ने विषय र निर्वाचनको तयारीका लागि २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको थियो । तर नेकपाका दुबै समूहसँग गर्न लागिएको छलफलमा उक्त समूह सहभागी नभई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको हो ।

नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल काठमाडौं बाहिर रहेकाले उपस्थित हुन नसकेको जानकारी गराएको छ । उक्त समूहका अध्यक्षद्धय माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड-माधव समूहले बताएको हो ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड-नेपाल बाहिर रहेका कारण प्रतिनिधि मनोनयन पनि गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाएका छन् । उक्त समूहका नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।

दाहाल-नेपाल समूहले आयोगलाई बुझाएको पत्रमा पुन: अरू नै कुनै मिति तोकेर छलफलका लागि बोलाउन आग्रह गरिएको छ । आज प्रचण्ड-नेपाल विराटनगरमा आयोजित विरोधसभामा छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरुसँग आयोगले छलफल गरिरहेको छ ।

यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो । निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता नदिएर दुबै समूहको माग दावीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

माघ ११ गते आइतबार बसेको आयोगको बैठकले दुबैको माग दाबी नपुगेको निष्कर्ष निकालेको थियो । नेकपाको ओली समूह र प्रचण्ड-नेपाल समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगले गरेको थियो । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको थियो ।

यो पनि पढ्नुहोस्

निर्वाचन आयोगले नेकपाका दुबै समूहसँग आज छलफल गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !