६ बैशाख २०८१, बिहिबार

मतदान केन्द्र परिवर्तन गर्न सिफारिस र नामावली अद्यावधिक गरिँदै


मतदान केन्द्र

चरीकोट । सरकारले आगमी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ ।

जिल्लाका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका र एक नगरपालिकाले विभिन्न ठाउँमा रहेको मतदान केन्द्रहरु हटाएर नयाँ ठाउँमा मतदान केन्द्र तोक्नका लागि निर्वाचन आयोगमा पठाउन सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी गोमा धमलाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसहितको सिफारिस समितिले जिरी नगरपालिका–४ को नेपाली सेनाको पुरानो आवास भवन रहेको ठाउँको मतदान केन्द्र मतदाताहरुलाई पायक पर्ने र सुरक्षाको दृष्टिकोणले समेत उपयुक्त नभएको जनाउँदै वडा नं ४ को वडा कार्यालय भवनमा सार्नका लागि सिफारिस गरेको छ ।

त्यस्तै सैलुङ गाउँपालिका–१ सरस्वती प्राविमा रहेको केन्द्र परिर्वतन गरी वडा कार्यालय भवन, वडा नं २ गाविस भवनमा रहेको केन्द्र नवीन माविमा, वडा नं ३ जुगेश्वरी आधारभूत विद्यालयमा रहेको केन्द्र गाउँपालिका भवनमा, वडा नं ६ को सैलुङ एकेडेमीमा रहेको केन्द्र वडा कार्यालय भवनमा, वडा नं ७ को सागुते माविमा रहेको केन्द्र वडा कार्यालय भवन र वडा नं ८ को गाविस भवनमा रहेको केन्द्र शारदा माविमा सार्न सिफारिस गरेको छ । वैत्येश्वर गाउँपालिका–८ क्षत्रवती माविमा रहेको केन्द्र वडा कार्यालयको भवनमा सार्नका लागि सिफारिस गरेको छ । सिफारिस भएका अधिकांश ठाउँ मतदाताहरुका लागि पायक नभएको र सुरक्षाको दुष्टिकोणले सार्नका लागि सिफारिस गरेको समितिले जनाएको छ ।

मध्यावधि निर्वाचनका लागि तयारी गर्नका लागि निर्वाचन कार्यालयले आयोजना गरेको सर्वदलीय बैठकमा ती मतदान केन्द्र सार्नका लागि निवेदन प्राप्त भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको टोलीले स्थलगत अनुगमन गर्नुभएको थियो । सुरक्षा प्रमुखसहितको टोलीले स्थलगत अवलोकनपश्चात् केन्द्र सार्नका लागि सिफारिस भएको हो ।

मतदानस्थल सारिँदै

बनेपा–काभ्रेपलाञ्चोकका विभिन्न ठाउँका आठ मतदानस्थल सारिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाताका लागि पायक नपरेको र कतै भूकम्पले भत्काएर साँघुरो ठाउँ भएका कारण फराकिलो स्थानमा सार्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईले बताउनुभयो ।

जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले बैठकको बैठकबाट सो स्थलहरु सार्नका लागि आयोगमा सिफारिस गरिएको उहाँले बताउनुभयो । सार्नुपर्ने मतदानस्थलहरुमा खानीखोला गाउँपालिकाको हनुमान शक्ति आधारभूत विद्यालय जुरेबाट भृकुटी मावि, पनौती नगरपालिका–१२ कलाँती रोशी बजारबाट बालप्रकाश मावि भालेश्व, वडा नं ३ विहाबर मावि पाटीचौरबाट वडा नं ३ को कार्यालय नयाँ पुल, पाँचखाल नगरपालिका–२ पुरानो गाविस भवन अनैकोटबाट वडा कार्यालय भवनमा सार्न सिफारिस गरिएको छ ।

त्यस्तै बनेपा नगरपालिका–१ साबिक गाविस भवनको नयाँ वडा कार्यालय भवनमा, वडा नं ११ सरस्वती सामुदायिक महिला भवन पाकुटोलको ए.भी.एम विद्यालयमा, वडा नं १२ गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालयको भवन देउरालीमा र रोशी गाउँपालिका–३ साबिक गाविस भवन शिखरबाट देवी मावि शिखरमा सार्न सिफारिस भएको कार्यालयले जनाएको छ ।

निर्वाचनमा अन्य दशवटा स्थानको भने नाम मात्रै परवर्तन गरिने भएको निर्वाचन अधिकारी राईले बताउनुभयो । जिल्लामा १८९ मतदानस्थल र ३५० मतदान केन्द्रबाट दुई लाख ८२ हजार ५५५ सहभागी हुने अनुमान कार्यालयले लगाएको छ ।

म्याग्दीमा मतदाता नामावली अद्यावधिक तयारी

बेनी– म्याग्दीमा आगामी आमनिर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरुआत हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा मतदाताको नामावली अद्यावधिक र दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेलगत्तै गत गतपुस ६ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको र पुस ५ गतेसम्म सङ्कलित मतदाता नामावलीलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली कायम गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका एक नगरपालिकासहित ६ स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन गरिने र मतदाता नामावलीमा नाम, विवरण र दोहोरोपनमा देखिएका त्रुटि सच्च्याउने गरी अभियान सञ्चालन भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख नाम दर्ता अधिकारीसमेत रहनुभएका निर्वाचन अधिकारी घिमिरेका अनुसार हरेक स्थानीय तहमा एक÷एकजना सहायक नाम दर्ता अधिकारी रहने व्यवस्थाअनुरुप जिल्लाका ६ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारीहरुलाई तालीम दिएर खटाइसकिएको छ ।

स्थानीय तहकै कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाताहरुको नामावली टाँस गरिनेछ । उक्त नामावलीमा त्रुटि देखिएमा विवरण सच्च्याउन दरखास्त दिने, दोहोरो नाम भेटिएमा हटाउन निवेदन दिने, मृत्यु भएका र नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन दाबी विरोध गर्न माघ १५ देखि १८ गतेसम्मको समय तोकिएको छ ।

मतदाता नामावली अद्यावधिक कार्यलाई प्रचारप्रसार र व्यापक बनाउनका लागि कार्यालयले आइतबार बेनीमा सरोकारवालासँग अन्तरक्रियासमेत गरेको छ । राजनैतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक सङ्घ संस्थाका अगुवाहरुसँग कार्यालयले अन्तरक्रिया गरी अभियानका बारेमा जानकारी गराएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मतदाता नामावलीलाई त्रुटिरहित बनाउँदै निर्वाचनमा मतदाताको अधिकारको सुनिश्चित गर्नका लागि मतदाता अद्यावधिक आवश्यक रहेकामा जोड दिनुभयो । त्यस्तै प्रजिअ उमाकान्त अधिकारीले मतदाता नामावलीको शुद्धताले निर्वाचन प्रणाली विश्वसनीय हुने बताउनुभयो । उहाँले त्रुटिहरुले निर्वाचनमा विवाद हुने र स्वच्छतामा प्रश्न उठ्ने भएकाले अद्यावधिक कार्यक्रमलाई प्रभावकारी बनाउतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !