१३ बैशाख २०८१, बिहिबार

संसद विघटनविरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई प्रचण्ड-नेपाल समुहको आग्रह


प्रचण्ड-नेपाल समुह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन् ।

यहाँ आज भएको अनेरास्ववियूको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको एक नेताले अल्पमतमा परेपछि सजिलै छाडिदिएको भए पार्टी फुट्न अवस्था नै आउने थिएन भने ।

मुलुकमा प्रतिनिधिसभा विघटन गरी संविधानमाथि प्रहार भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री दाहालले अब हुन सक्ने षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीलाई आह्वान गरे ।

उनले प्रतिनिधिसभा र पार्टीको आधिकारिकताका विषयमा अदालत र निर्वाचन आयोगप्रति आफ्नो विश्वास रहेको र सबैभन्दा बढी भरोसा जनतामा रहेको जनाए ।

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वाेच्च अदालत र निर्वाचन आयोगले तजबिजी भन्दा पनि कानून र संविधानका आधारमा निर्णय लिने विश्वास व्यक्त गरे ।

नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावलले र सुरेन्द्रप्रसाद पाण्डेले प्रतिगमन विरुद्धको हरेक मोर्चामा युवा विद्यार्थी अग्रपङ्तिमा रहेको इतिहास स्मरण गर्दै यसपालि पनि फेरि विद्यार्थी जाग्ने बेला आएको बताए । अर्का नेता हितमान शाक्यले प्रतिनिधिसभा विघटन संविधानविरुद्ध सशक्त प्रतिकार गर्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !