७ बैशाख २०८१, शुक्रबार

परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली प्रस्थान : सीमा विषयमा छलफल हुने


परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली प्रस्थान

काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल-भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड-१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ ।

मन्त्री ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँ दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल हुनुहुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

नेपाल-भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्री स्तरमा वर्षेनी विचार विमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ ।

सत्र महिनाअघि आयोगको पाँचौ बैठक काठमाडौँमा भएको थियो । कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यो बैठक निर्धारित समयभन्दा ५ महिनापछि हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !