८ बैशाख २०८१, शनिबार

गगनको सुवासलाई गतिलो झटारो : संविधानको पक्षमा उभिने साहस किन नगरेको ?


गगन थापा र सुवास नेम्वाङ

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका यूवा नेता गगन थापाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई गतिलो झटारो हानेका छन् । आज बिहान सामाजिक संजाल फेसबुकमा लामो स्टाट्स लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा समेत संविधानसभाको अध्यक्ष नेम्वाङले चुइक्क नबोली निरिहता प्रदर्शन गर्दै लुकेर बसेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।’

उनले नेम्वाङलाई संकेत गर्दै लेखेका छन्, ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर- ”श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइन” भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ ।’

उनले नेम्वाङप्रति आक्रोस व्यक्त गर्दै लेखेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ”कु” हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।’

उनले सर्वोच्च अदालतप्रति आशा राख्दै लेखेका छन्, ‘संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन । मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !