७ बैशाख २०८१, शुक्रबार

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक जारी, के गर्ला निर्णय ?


प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ । स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो । आज आइतबार दिउँसो पेरिसडाँडामा बैठक शुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठनपछि नेकपामा औपचारिक विभाजन आएको छ । आजको स्थायी समिति बैठकमा संसद विघटन विरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकले प्रदेश र जिल्लाको नेतृत्वको टुंगो लगाउने स्रोतले जनाएको छ । नेकपामा विभाजनपछि ओली पक्षले प्रदेशको नेतृत्वको टुंगो लगाए पनि प्रचण्ड-नेपाल समूहले भने अहिलेसम्म लगाएको थिएन । तत्कालीन नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमध्ये २९ जना प्रचण्ड-नेपाल समूहमा छन् । उनीहरूले केही दिनअघिमात्रै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि नेकपाको प्रचण्ड-नेपाल समूह उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलन गरिरहेको छ ।

उक्त समूहले हिजो शनिबार मात्रै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने रणनीतिमा रहेको नेकपाको प्रचण्ड-नेपाल समूह सातै प्रदेशमा आन्दोलनका कार्यक्रम शान्तिपूर्ण तर सशक्त बनाउने योजनामा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !