६ बैशाख २०८१, बिहिबार

द्वन्द्वकालीन मुद्दा शान्तिसम्झौतानुरुप गर्न माओवादीको आग्रह


काठमाडौा, ९ वैशाख । सशस्त्र द्वन्द्वकालीन मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाउन एकीकृत नेकपा (माओवादी)लगायत उसबाट विभाजित घटकले आग्रह गरेका छन् ।

जनयुद्धको समयका सबै घटनालाई आयोगमार्फत अगाडि बढाउने सहमति भए पनि पछिल्ला दिनमा अदालतले माओवादीका नेता तथा कार्यकर्तालाई प्रचलित ऐन तथा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएकोमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

शान्तिसम्झौता मर्मविपरीत माओवादीका नेता तथा कार्यकर्तालाई मुद्दा लगाउने, हिरासतमा लिन आदेश दिने तथा अपराधीझैं व्यवहार गरिएको भन्दै माओवादी घटकले युद्धकालीन मुद्दालाई पूर्वसहमतिअनुसार अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।

सशस्त्र युद्धकालीन मुद्दा उल्लेखनीय रुपमा फिर्ता नभएको, राज्यको महत्वपूर्ण अङ्गका रुपमा रहेको न्यायालयलाई ती मुद्दा सङ्क्रमणकालीन न्यायिक प्रणालीको मान्यताअनुरुप अगाडि बढाउन आग्रह गरिएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य, नेकपा (माओवादी)का संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै बृहत् शान्तिसम्झौताअनुरुप जनयुद्धकालीन मुद्दा खारेजी र बाँकी रहेका मुद्दालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्न आग्रह गरेका हुन् ।

एमाओवादीलगायतका दलको बुधबार बसेको बैठकले पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकले जिल्ला जिल्लामा कानुनी सहयोग कक्ष खडा गर्नेसमेत निर्णय गरेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !