६ बैशाख २०८१, बिहिबार

पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री प्रभु साहको गाडी भागेपछि…


प्रभु साह

सर्लाही । सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले शनिबार सर्लाहीको हरिवनमा १ जना पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ । मन्त्री सवार गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचार भइरहेको छ ।

​पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको थियो । मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको हो ।

मुलुकको मन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धार लगायतमा जुट्‍नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !