१३ बैशाख २०८१, बिहिबार

किन ओलीको साथ छोडे पूर्व एमाले हाँकेका प्रधानमन्त्री भइसकेका शीर्ष नेताहरुले ?


ओली, खनाल र नेपाल

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व एमालेका हाँकेका प्रधानमन्त्री भइसकेका सहकर्मी नेताहरु माधव नेपाल र झलनाथ खनालले साथ छोडेका छन् । आखिर किन उनीहरुले ओलीको साथ छोडे ? भन्ने चासो आम नेपाली राजनीतिक वृत्तमा बढेको छ ।

नेकपा विभाजन हुँदा पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालले ओलीलाई साथ छोडेर तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर लागेका छन् । माधव नेपाल तत्कालिन एमालेको १५ वर्ष महासचिव भएर पार्टी संचालन गरेका नेता हुन् भने खनाल पनि पार्टी अध्यक्ष भइसकेका नेता हुन् ।

तर तत्कालिन माओवादी केन्द्र र एमाले पार्टी एकता भएपछि यी दुई नेता दिन-प्रतिदिन ओलीदेखि टाढिन् थालेका थिए । पार्टी एकीकरण गर्दा यी दुई नेताले वरिष्ठ नेताको वरियता पाएका थिए । पार्टी एकीकरणको समयमा पार्टी संचालन र सरकार संचालन आलोपालो गर्ने सहमति भएको थियो । तर दिन बित्दै जाँदा ओलीले उक्त सहमति बिर्सिदै आफ्नो मनखुसी गर्न थालेपछि नेता नेपाल र खनाल ओलीप्रति असन्तुष्टि हुन थालेका थिए ।

ओलीले पार्टी र सरकार संचालनको सहमति नमानिकन आफ्नो खुसीले पार्टी र सरकार संचालन गर्न थालेपछि पूर्वएमालेका नेताहरु असन्तुष्टि हुन थालेका थिए । ओलीले पार्टी संचालनमा पनि आफ्नो मनखुसी संचालन गर्न थालेपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पनि असन्तुष्टि हुन थालेका थिए ।

ओलीले प्रदेशका प्रदेश प्रमुख नियुक्ति गर्दा समेत आफ्नो पक्षका नेताहरुलाई नियुक्ति गरेपछि प्रचण्ड, नेपाल र खनाल ओलीदेखि चिढिएका थिए । नेपाल पक्षका केहि नेताहरुको नाम प्रदेश प्रमुखको लागि प्रस्ताव गरेपनि ओलीले आफ्नो पक्षका मात्र नेताहरु नियुक्ति गरेका थिए । प्रदेश प्रमुख नियुक्ति मात्र नभई केन्द्र सरकारको मन्त्रिपरिषद हेरफेर गर्दा पनि ओलीले आफ्नो मनखुसी गर्न थालेपछि आफ्नै सहकर्मी नेताहरु ओलीदेखि टाढिएका हुन् ।

नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण गर्ने प्रक्रियामा बनाइएको एकता संयोजन समितिमा नेपाल भन्दा खनाल वरिष्ठ थिएँ । पछि उनको वरिष्ठता तलमाथि गरिएको थियो । जेजे कारणले त्यो गरिएको भएपनि १५ महिनापछि नेपालले पनि ओलीको त्यो रणनीति बुझेका थिए । साथै ओलीले नेपाल र खनालवीच टकराव सिर्जना गर्न नेकपाको मर्यादाक्रममा कहिले माधव नेपाललाई झलनाथ खनाल भन्दा माथि राख्ने र कहिले झलनाथ खनाललाई माधव नेपाल भन्दा माथि राख्ने रणनीति अपनाए । तर अरुलाई जुधाउन र लडाउन खोज्दा अन्तिममा ओली आफै लडेका छन् ।

तर ओलीले पुस ५ गते संसद भंग गरेपछि नेकपा पार्टी विभाजन भएको हो । ओलीको यो कदम असंवैधानिक भएको भन्दै प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षका नेताहरुसँग बैठक बोलाएपछि ओली समूहले पनि आफ्नो पक्षका नेताहरुसँग छलफलमा जुट्न थालेको थियो । ओलीले नेपाल र खनाल जस्ता वरिष्ठ नेताहरुले ओलीको साथ छोड्नुको मुख्य कारण भनेको ओलीले अरु शीर्ष नेताहरुको कुरा नसुनी आफूखुशी चलेर निर्णय गर्नु पनि मुख्य कारण हो ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री ओलीले ३ वर्षको कार्यकाल खेर फालेको बताएका छन् । खनालले प्रधानमन्त्री केपी ओलीले केही मान्छेहरूलाई बालुवाटारमा भेला गरेर देशमा अराजकता मच्चाएको बताएका हुन् । बालुवाटारमा संविधानविरोधी, लोकतन्त्रविरोधी र अराजक मान्छेहरूलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको खनालको दाबी छ ।

संविधानविरोधी, लोकतन्त्रविरोधी, अराजक, मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेलाको नायक अहिले केपी ओली बन्न पुगेको बताएका छन् । खनालले प्रधानमन्त्री बनेदेखि केपी ओली निरंकुश, तानाशाही जस्तो शासक बनेको आरोप लगाएका छन् । नेता खनालले प्रधानमन्त्री ओली नेतृत्वमा आएदेखि नै गुटबन्दीमा लागेकाे बताएका छन् ।

नेकपाको स्थायी कमिटी बैठकमा समेत नेपाल र खनालले सरकार र पार्टी सञ्चालनका दुबै मोर्चामा ओली असफल भएको बताउँदै उनीहरुले राजीनामा मागेका थिए । ओलीका कारण पार्टी एकता टुंगो नलागेको, सरकारका काम प्रति नागरिकमा व्यापक असन्तुष्ठि बढेको लगायतका कारणले ओलीको राजीनामा माग्नु परेको नेताहरुले बताएका थिए । ओलीको आफ्नो कदमले गर्दा नै पूर्वएमालेका नेताहरु पूर्वमाओवादीका नेताहरुसँग लागेका हुन् । ओलीको अहंकारका कारण नेपाल र खनाल प्रचण्डसँग नजिकिएका हुन् ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

ओलीलाई केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं, सच्चिने अन्तिम मौका छ : अध्यक्ष नेपाल

म मर्छु तर प्रचण्ड-नेपाल समूहको आकांक्षा पुरा हुन दिन्नँ : प्रधानमन्त्री ओली

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली

ओलीलाई खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

जनताको बलबाट ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्छ : वरिष्ठ नेता खनाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !