१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ को नेकपा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाई भीम आचार्य चयन


शेरधन राई र भीम आचार्य

विराटनगर । प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश १ को नेकपा संसदीय दलको नेताबाट शेरधन राईलाई हटाई भीम आचार्यलाई चयन गरेको छ । आज बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो ।

नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-नेपाल समूहले दलको नेतामा आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । संसदीय दलभित्र पनि अविश्वासको प्रस्ताव दर्ता भएकाले दलको नेताबाट निष्कासन गरी भीम आचार्यलाई चयन गरेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो । दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको जानकारी गराएका हुन् ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । यसअघि अविश्वासको प्रस्तावमा ३७ जनाको हस्ताक्षर भएपनि हस्ताक्षर गर्ने सांसद कला घले ओली पक्षमा लागेपछि प्रचण्ड-नेपाल समूहका ३६ जनाको मात्र हस्ताक्षर रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का ३ जना मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्रीले गुमाए संसदीय दलमा बहुमत

प्रदेश १ का मुख्यमन्त्री राईले किन गरे अर्थमन्त्री आङबोलाई बर्खास्त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !