७ बैशाख २०८१, शुक्रबार

चुनाव गराउने भए अध्यक्ष छोड्न तयार छु : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षको चुनाव गराउने भए नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल तयार हुनुपर्ने बताएका हुन् ।

काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको तर प्रचण्ड र नेपालमा भने पार्टीभित्र निर्वाचनमा जान आँट नभएको बताएका हुन् । साथै प्रचण्ड र नेपालले सोझै अध्यक्ष दिनुपर्ने माग गरेको ओलीको भनाइ थियो ।

अध्यक्ष प्रचण्ड पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताएका छन् । उनले आफू स्वास्थ्य स्थिति कठीन भएको बेलासमेत अध्यक्षमा लडेर निर्वाचित भएको भन्दै प्रतिस्पर्धाबाट नेतृत्वमा जाने भए आफू तयार रहेको बताए ।

आफूलाई तानाशाह भन्ने प्रचण्डले एकपल्ट महाधिवेशन नगर्ने, एकपल्ट चुनाव नगर्ने, एकपल्ट प्रतिस्पर्धा नगर्ने, प्रतिस्पर्धा गरे हार्ने, हारे मतपत्र च्यात्ने त्यो इतिहासबाट केपी ओली नआएको दावी गरे । तत्कालीन एमालेको संसदीय दलको नेतामा झलनाथ खनालसँग प्रतिस्पर्धा गरेर आएको र एमालेको नवौं महाधिवेशनमा पनि माधव नेपालसँग प्रतिस्पर्धा गरी जितेर आएको ओलीको भनाइ थियो ।

माधव नेपाल निर्वाचन हार्दा पनि प्रधानमन्त्रीसम्म पुगेर दुनियाँलाई चकित पारेको र अहिले पनि महाधिवेशनमा पराजित हुँदा पनि पार्टी विभाजन गरेर अध्यक्ष भएको आरोप लगाए । आफूलाई धम्क्याएर प्रधानमन्त्री नपाइने भन्दै त्यसका लागि पनि निर्वाचनमा जानुपर्ने ओलीको भनाइ थियो । लोकतान्त्रिक अभ्यासमा गएर नै पद पाइने उनले बताएका हुन् । नेकपा विभाजन अब कानुनी रूपमा मात्रै बाँकी रहेको उनीहरूका गतिविधिले देखाएका छन् ।

ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् । उनले आफूले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गर्नुका साथै एकतालाई जोगाउन आफूले प्रचण्डसँग पटक-पटक सहमति गरेको प्रसंग कोट्याउदै प्रचण्डसँग सहमति गर्दा आफ्नो एउटा ब्रिफकेस नै भरिएतापनि प्रचण्डले सहमति कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।

आफूले मित्रताले अँगालो हाल्दा प्रचण्डको ध्यान शुरुदेखि ध्रीतराष्टले जस्तै पार्टी कब्जा गर्ने र हत्याउने रहेकोले आफूले पटक-पटक सम्झाउने प्रयास गरेपनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनले आरोप लगाउदै ३ वर्षमा आफ्नो धेरै साबुन, स्याम्पु र ट्याङ्करको पानी सकिएतापानी उनीहरु नसुध्रिएको बताए ।

ओलीले आफू मरेपनि प्रचण्ड-नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गर्दै संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले आफू मर्छु तर उनीहरुको आकांक्षा पुरा हुन दिँदिन भन्दै चुनाब हुँदैन भन्ने प्रचण्ड-नेपाल समूह अबको चुनावमा पत्तासाफ हुने पनि बताए । अब चुनावको तयारी गरी प्रचण्ड माधव समूहलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिदै चुनावको तयारीमा नलागेर किन माइतीघरको चिसो भुइँमा बसेर रमिता देखाएको भनेर प्रतिप्रश्न गरे ।

प्रचण्ड-नेपाल समूहले आफूसँग बहुमत भएको दाबी गरेपनि उनीहरुको बहुमत नभएको भन्दै माधब नेपाल प्रचण्डको सामान्य कार्यकर्ता मात्र भएको जिकिर गरे । उनले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा-धुजा पारेको टिप्पणी गर्दै छोरी जिताउनकै लागि नेपाली कांग्रेसँग प्रचण्ड मिलेतापनि खासै उपलब्धी नभएको टिप्पणी गरे ।

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधान लगायतका उपलब्धि अहिले मुलुकमा राजतन्त्र नभएकाले खतरा नभएको ओलीले बताए । अव वैशाखमा हुने चुनाव धाँधलीरहित हुने भन्दै ओलीले बत्ती ननिभाइने र मतपत्र पनि नच्यातिने दावी गरे ।

यो पनि पढ्नुहोस्

म मर्छु तर प्रचण्ड-नेपाल समूहको आकांक्षा पुरा हुन दिन्नँ : प्रधानमन्त्री ओली

ओली भन्छन्, “प्रचण्डलाई धुँदा-धुँदा साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो”

माधवकुमार नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !