१२ बैशाख २०८१, बुधबार

संसद पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल


विष्णुप्रसाद पौडेल फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए ।

उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरु सहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क दिए । उनले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए ।

“प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भने”, लुम्बिनी प्रदेश, रुपन्देहीका पूर्वसांसद पौडेलले भने, “तर उनीहरु महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार भएनन् ।” उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए । उनले अघिल्लो पटकको प्रधानमन्त्री कालमा ओलीले भारतसँग विद्युत् किनेका कारण मुलुक विद्युत्भार कटौतीमुक्त भएको जिकिर गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता, हुलाकी सडक-विमानस्थल निर्माण-स्थानीय तहमा अस्पताल निर्माणलगायत थुप्रै राम्रा काम गरेको उदाहरण दिँदै नयाँ भूभाग समेटेर नेपालको नक्शा जारी गरेपछि ओलीमाथि घेराबन्दी थालिएको विचार व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !