१३ बैशाख २०८१, बिहिबार

रावल र भुसाललाई शितलनिवास पठाएर प्रचण्डले फेरि किन थाले ओलीसँग छलफल ?


ओली-प्रचण्ड

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली नआएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाललाई अचानक राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पठाएका छन् भने महासचिव विष्णु पौडेललाई राखेर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल पनि गरिरहेका छन् ।

संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षर सहित स्थायी समिति सदस्यहरु रावल र भुसाल शीतल निवास पुगेको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालय स्रोतका अनुसार नेताहरु राष्ट्रपतिलाई भेट्नका लागि शीतल निवास आएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ । यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन् ।

नेकपाका प्रमुख सचेतक देव गुरूङले संविधानको धारा ९३ को ३ बमोजिम विशेष अधिवेशन माग गर्न पाइने भएकोले सोही अनुसार उनीहरू राष्ट्रपति निवास गएको हुनसक्ने आंकलन पनि गर्न सकिन्छ ।

नेकपाभित्रको विवाद उल्कर्षमा पुग्दै गर्दा स्थायी समिति बैठक समेत प्रभावित भएर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न सकेको छैन । यसअघि आजै दुई अध्यक्षबीच वान टु वान छलफल भएकोमा दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी छन् ।

आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको थियो । दाहाल-नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन् । यसैवीच प्रधानमन्त्री ओलीले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्‍याइएको हस्ताक्षर तत्काल फिर्ता लिन प्रचण्डसँग आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिव सहित दुई अध्यक्षबीच छलफल सुरु भएको बताएका छन् । प्रधानमन्त्री ओलीले हिजो मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढेको छ । प्रचण्डले फेरि ओलीसँग छलफल थाल्नुको मुख्य कारण भनेको पार्टीमा सिर्जना भएको चरम विवादलाई अन्त्य गरी सहमतिको विन्दु नै खोज्नु रहेको नेकपाका एक नेताले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !