७ बैशाख २०८१, शुक्रबार

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा नजाने : अव के गर्लान् प्रधानमन्त्री ओलीले ?


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार बोलाएको बैठकमा परिषद् सदस्य सभामुख अग्नि प्रसाद सापकोटा नजाने भएका छन् ।

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सापकोटा सहभागी नहुने भएका हुन् ।

संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफू निकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनी निकटका व्यक्तिहरूले बताएका छन् ।

गत भदौ २६ गतेको स्थायी समिति बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा अध्यक्ष प्रचण्ड समेतको छलफल र आवश्यकता अनुसार पार्टीमा समेत छलफल गरेर मात्रै गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।

यसअघि मंसिर २८ गते आइतबार बोलाएको परिषद् बैठक पनि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । सो दिनको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा सहभागी भएका थिएनन् ।

नेपाली कांगेसका युवा नेता गगन थापाले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

यसरी आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा नजाने भएपछि, प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक टकराव नटुंगिएसम्म र नेपाली काँग्रेसका नेताहरुले पार्टी अध्यक्ष देउवालाई उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन सुझाव दिएसंगै फेरि पनि संवैधानिक परिषदको बैठक अनिश्चितता कायमै रहने भएकोले प्रधानमन्त्री ओलीले अव के गर्लान् भन्ने प्रश्नचिन्ह खडा भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !