११ बैशाख २०८१, मंगलबार

नेपाली कांग्रेसलाई सत्ता प्यारो छैन : डा. रिजाल


डा. मिनेन्द्र रिजाल

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा. रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे ।

“गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ”, उनले भने । वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको डा. रिजालको आरोप थियो ।

संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा. रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए । सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोज्ने कार्य कांग्रेसलाई असह्य रहेको बताए ।

कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले सरकारले राम्रो काम नगरेको जनाउँदै सोही कारण कांग्रेस आन्दोलनमा उत्रिनुपरेको बताए । महासमिति सदस्य रामचन्द्र पोखरेलले कांग्रेसलाई निषेध गर्न खोजिएको जनाउँदै सोही कारण आन्दोलन गर्नुपरेको बताए ।

कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभासद् डोबाटे विक, सरिता गुरुङ लगायतले सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !