७ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न नेता नेपालको माग


माधव नेपाल फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । साथै पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भर्त्सना व्यक्त गरेका छन् ।

नेता पाण्डेमाथि शनिबार नगरको बैठकमा सहभागी भएर मन्तव्य राखिरहेका बेला अनाधिकृत रूपमा प्रवेश गरेका व्यक्तिहरूले सुनियोजित रूपमा अभद्र व्यवहार देखाउनुका साथै नाराबाजी समेत गरेकोमा उक्त घटनाको वरिष्ठ नेता नेपालले भर्त्सना र निन्दा समेत गरेका हु्न् ।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह बैठक स्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेपछि कार्यक्रमनै स्थगित भएको थियो ।

कार्यक्रमबाट नेता पाण्डे लखेटिएपछि वरिष्ठ नेता नेपालले दोषीहरुमाथि कारवाहीको माग गरेका छन् । नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै प्रधानन्त्री ओली समर्थकहरुले पाण्डेको विरुद्ध प्रदर्शन गरेको बताएका थिए ।

‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, नेता नेपालले शनिबार विज्ञप्ति समेत जारी गर्दै भनेका छन् ।

‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु’, नेता नेपालले ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ उनले फेसबुकमा शनिबार जारी गरेको विज्ञप्ति

यस्ता छन् उनले ट्वीटरमा लेखेका २ वटा पोष्टहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !