१२ बैशाख २०८१, बुधबार

मंसिर ३ गते फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक


नेकपा सचिवालय

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर बसेर सकिएको छ । आज शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्षद्वयले एक अर्कामा दिएको पत्र र अन्तर पार्टी निर्देशिका समेत पढेर आउने गरी आजको बैठकले अर्को बैठकका लागि एजेण्डा समेत तय गरेको छ । मुख्यत: पार्टीमा देखिएको संकट र त्यसको समाधानलाई केन्द्रमा राखेर छलफल गरिने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा कार्यकारी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्यले बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बुझाएको पत्र बैठकमा पेश भएको थियो ।

त्यसबाहेक ती सबैलाई समेटेर अध्यक्ष दाहालले बैठकका लागि तयार पारेको एजेण्डासहितको प्रतिवेदन पनि पेस भएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार यी सबै अध्ययन गरेर मंसिर ३ गते बैठक बस्ने निर्णय भएको हो ।

कात्तिक २२ मा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठकको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई सम्बोधन र अन्य चार नेतालाई बोधार्थ सहितको पत्र लेखेका थिए ।

लामो समयसम्म बैठक बोलाउने विषयमा विवाद कायम रहेका बेला नेकपामा अध्यक्षद्वयबीच पछिल्लो समय ‘पत्रयुद्ध’ नै भएको बेला यो बैठकलाई नेकपा विभाजन अथवा जुटको स्थितिमा रहेकाले पनि सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको थियो ।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्त कुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको जस्ता आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताले छानेर पठाएको प्रधानमन्त्री भएकोले राजीनामा नदिने बताएका थिए । चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्न कार्तिक २६, बुधबार संखुवासभा पुगेका ओलीले देश विकासबाट पछि नहट्ने पनि अभिव्यक्ति दिएका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठकमा यी एजेन्डाहरु प्रस्तुत हुने

आज नेकपा सचिवालय बैठक, अध्यक्षद्वय ओली र दाहालले फरक-फरक प्रस्ताव ल्याउने तयारी

म जनताले छानेर पठाएको प्रधानमन्त्री हुँ, राजीनामा दिन्‍नँ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु