७ बैशाख २०८१, शुक्रबार

आफूविरुद्ध गुटबन्दी भएकोले भन्दै प्रधानमन्त्री ओलीद्वारा सचिवालय बैठक बोलाउन अस्वीकार


केपी शर्मा ओली

काठमाडौँ, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालयका बहुमत सदस्यहरुले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाएका छन् । तर, आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै प्रधानमन्त्री ओली अझैपनि टसमस नभई बैठक बोलाउन अस्वीकार गरेका छन् ।

पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय समेटेर ५ नेताले ओलीलाई लिखित पत्र बुझाएका हुन् । सो पत्र बुझाउन कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबार बालुवाटार पुगेका थिए ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए । तर, पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण संवाद भएको थियो । ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको सचिवालयका एक सदस्यले बताए ।

पत्र बुझाउनुअघि सचिवालयका ५ जना नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफल समेत गरेका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन माग गर्दै पत्र लेख्ने निर्णय भएको थियो । पत्रअनुसार बैठक बोलाउन ओली तयार नभए औपचारिक बैठकको तयारीमा लाग्ने सचिवालयका बहुमत सदस्यहरुको तयारी छ ।

सत्तारुढ नेकपामा चलिरहेको व्यक्तिगत शक्ति संघर्ष र जुहारीले भने आम नेपाली नागरिकहरु वाक्कदिक्क भएका छन् । यदि नेकपाका नेताहरु नसुध्रिने हो भने यसको दिर्घकालिन परिणाम भविष्यमा हुने आम निर्वाचनमा नेकपाले नराम्रो क्षति बेहोर्नुपर्ने छ भने यसको प्रतिफल कम्जोर प्रतिपक्ष दल नेपाली काँग्रेसको पोल्टामा नजाने आंकलन नगर्न सकिदैन ।

यो पनि पढ्नुहोस्

नेकपाका नेताहरुको जुहारी : ओलीलाई फकाउन प्रचण्डसहित ५ सचिवालय सदस्यहरु बालुवाटारमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !