११ बैशाख २०८१, मंगलबार

सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुग्यो : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौँ, कार्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला गरी काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका हुन् ।

सरकारलाई पार्टी भित्रैबाट पनि सहयोग नभएको, घेराबन्दी गरेको, राजीनामा मागेर काम गर्न नदिएको बताएका छन् । साथै उनी कुनै हालतमा पनि राजीनामा दिने पक्षमा नभएको एक मन्त्रीले बताएका छन् । आफ्नै पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न नसकिएकोले अस्थिरता निम्त्याउने काम मात्रै भएकोले मुलुक नै गम्भीर मोडमा पुगेको बताएका छन् ।

हिजो मात्र प्रधानमन्त्री ओलीले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए । अहिले ओलीको राजीनामा कसैले नमागेपनि ओली आफैले राजीनामाको प्रसंग निकालेकोमा उनको आलोचना समेत भइरहेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो पुराण सुनाएको एक मन्त्रीले बताएका छन् । सत्तारुढ दल नेकपाभित्र विवाद र अन्तरविरोध चर्कदै गएका बेला यसअघि पनि अध्यक्ष समेत रहेका ओलीले विना प्रसंगका यस्ता अभिव्यक्तिहरु दिएर विषयान्तर गर्ने गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !