१२ बैशाख २०८१, बुधबार

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल : मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटाउने प्रयास


काठमाडौँ, असोज १२ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटाउन छलफल जारी रहेको छ । सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन् ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन । खासगरी मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो ।

अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठन बारेमा हिजो आइतबार छलफल भएतापनि कुरा नमिलेपछि आज पनि छलफल भई रहेको हो । प्रधानमन्त्री ओलीले १/२ दिनमै मन्त्रिपरिषद्को पुनर्गठन गर्न चाहेतापनि अध्यक्षद्वयबीच कुरा नमिल्दा केही ढिलो हुनसक्ने आंकलन गर्न सकिन्छ ।

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड २ वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् । त्यस्तै समीकरण मिलाउन ओली र प्रचण्डबीच ३ वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको बुझिएको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको स्रोतहरुको भनाइ छ । तर नेकपाभित्रै मन्त्रालय फुटाउन नहुने आवाज पनि उठ्दै आएको छ । विगतमा मन्त्रालय फटाउने र धेरै मन्त्रीहरु बनाउने कामले विकृति र विसंगति ल्याएकोले नै नेपालको संविधानमा २५ जना भन्दा बढि मन्त्री बनाउन नमिल्ने बनाएको नेकपाभित्रै केहि नेताहरुको मत रहेको छ ।

यस्तो मत राख्ने नेताहरुका अनुसार भागवण्डा मिलाउनकै लागि मन्त्रालय संख्या बढाउने निर्णय संवैधानिक मर्म र जनभावना विपरीत हुने भन्दै त्यसको राम्रो संकेत नजाने दावी गरेका छन् । हाल भएका २१ वटा मन्त्रालयहरु र अहिले चर्चा परिचर्चा भएअनुसार ३ वटा मन्त्रालय फुटाउने हो भने २४ वटा मन्त्रालय हुनेछन् ।

प्रधानमन्त्री ओलीले टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड निकट स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले ३ वटा मन्त्रालय थप्ने र ३ वटा खाली मन्त्रालयलाई गरेर ६ वटा मन्त्रालयमा ६ जना मन्त्री मात्र थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । यस्तो अवस्था आएमा ३ राज्यमन्त्रीले बिदा हुनुपर्नेछ भने ६ जना मन्त्री थप्न सकिन्छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भने प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि केही समय कुर्नुपर्ने धारणा राखेका छन् । स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउन चाहेको तर गौतमबारेविरूद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा भएकोले असोज १५ गतेपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन हेने देखिन्छ ।

केही मन्त्रीहरूलाई हटाएर पुनर्गठन गर्नुपर्ने पक्षमा प्रचण्ड रहेकाले कुरा नमिलेको उनी निकट स्रोतको दाबी छ । अहिलेका धेरै मन्त्रीहरू हटाएर पुनर्गठन गर्न प्रधानमन्त्री तयार हुनसाथ मन्त्रिपरिषद् पुनर्गठन भइहाल्ने प्रचण्ड निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री बाहेक सबै मन्त्रीको राजिनामा गराउने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने, दुई वर्ष पुराना मन्त्रीलाई मात्रै हटाउने वा कार्यसम्पादनका आधारमा पुनर्गठन गर्ने लगायतका विभिन्न प्रस्तावबारे छलफल जारी रहेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले यी विभिन्न प्रस्तावबारेमा छलफल गरे पनि कुन मापदण्डअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमति हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

भागबन्डामै अल्झियो मन्त्रिपरिषद् पुनर्गठन : प्रशासनिक कामकारबाही प्रभावित

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा : यस्ता छन् मन्त्रीका दाबेदार

ओली-प्रचण्ड छलफल सकारात्मक : केहि दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने

बालुवाटारमा ओली-दाहालबीच छलफल जारी : मन्त्रिपरिषद् पुर्नगठनको मापदण्ड टुंग्याउन सक्ने

प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठन गृहकार्यको अन्तिम चरणमा : यी हुन् नयाँ मन्त्री बन्न चाहिने ३० गुणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !