११ बैशाख २०८१, मंगलबार

ओली-प्रचण्डबीच कुरा मिलेपनि नेपालको चित्त यसकारण अझै बुझेन


ओली, प्रचण्ड र नेपाल

काठमाडौं,भदौ २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिकै आधारमा पार्टी प्रचण्डले स्वत्रन्त्र रुपमा चलाउने र ओलीले पार्टीको बिना हस्तक्षेप सरकार सञ्चालन गर्ने सहमति भइसकेको छ ।

तर पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ओली प्रचण्डबीच भएको सहमतिप्रति चित्त बुझाएका छैनन् । विवाद समाधानको लागि गठित कार्यादलले बुझाएको प्रतिवेदनमा उल्लेख गरेका कतिपय विषयमा स्पष्ट व्याख्या नभएको भन्दै उनले सचिवालय बैठकमा समेत फरक मत राखेका छन् । कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको अमूर्त विषयलाई थप स्पष्ट पार्नुपर्ने माग नेता नेपालले राखेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच सरकारको बाँकी कार्यकाल ओलीले नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्ष सहितको जिम्मेवारी लिए पार्टी सञ्चालन गर्नेमा समझदारी बनेको छ । सोही समझदारी भएपछि दुई अध्यक्षले जारी विवादको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलले बुझाएको सुझाव सहितको प्रतिवेदन सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । अब बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र प्रचण्डले कार्यदलको सुझावलाई समेत समावेश गरेर संयुक्त रुपमा प्रस्ताव पेश गर्ने योजना रहेको छ । उक्त प्रस्ताव पारित भएसंगै नेकपाको जारी विवाद तत्कालको लागि समाधान हुने देखिन्छ ।

गत असारमा बसेको स्थायी कमिटी बैठकमा शुरुमा ५ वटा एजेण्डामाथि छलफल तय भएपनि बैठकको बीचमै पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै ओलीको राजिनामा माग गरेपनि विवाद उत्कर्षमा पुगेको थियो ।

विभाजनको संघारमा पुगेको नेकपाको विवाद अन्ततः दुई अध्यक्षको समझदारीमा तत्कालको लागि टरेको छ । राजिनामाको विवाद चर्किदै गएपछि स्थायी कमिटी बैठक ओलीले स्थगित गरेपनि प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमै सञ्चालन गरेका थिए । व्यक्तिगत महत्वाकांक्षा र शीतयुद्धका कारण झन्डै पानी बाराबारको स्थितिमा पुगेको ओली र प्रचण्डको सम्वन्धमा अहिले अभूतपूर्ण मायाप्रेमको पुनर्मिलनले पार्टी विभाजनको ठुलो दुर्घटनावाट बचेको छ ।

नेताहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेपनि पार्टीभित्र असमझदारी बढदै गएपछि बैठक पनि प्रभावित हुन पुगेको थियो । कार्यदलले पार्टीको विवाद समाधान गर्ने सुझाव दिएसँगै स्थगित भएको स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाइएको जानकारी दिएका छन् । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा भएको सहमति अनुसार गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको छ ।

पञ्चायत कालमा पटक पटक प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बहुदलमा प्रधानमन्त्री हुँदा भनेका थिए,‘राजनीति सम्भावना नै सम्भावनाको खेल हो ।’ नेपाली राजनीतिमा हिजो टाउकाको मूल्य तोक्नेहरुले मूल्य तोकिएकासँग मिलेर प्रधानमन्त्री आलोपालो खाएकै हुन् । सत्ता र शक्तिको लागि शक्तिसंघर्ष हुँदा तेरो र मेरो नहुने तथ्य नेपाली राजनीतिमा बेला बेलामा देखिदै आएको हो ।

एउटा चर्चित भनाइ छ : ‘राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन’ । हुन पनि नेपालको राजनीति इतिहासमा विपरीत ध्रुवमा रहेका र एक अर्काका कट्टर शत्रुका रुपमा देखिएका दलहरु थुप्रै पटक एक ठाउँमा आएका छन् । एक अर्काको नामै सुन्न नचाहने शक्तिहरुले रातारात गठबन्धन बनाएर जनतालाई आश्चर्यमा पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !