८ बैशाख २०८१, शनिबार

खतिवडा अर्थमन्त्रीवाट बिदाइ भएपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बन्ने चर्चा


प्रधानमन्त्री ओली र डा. युवराज खतिवडा

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । आज बसिरहेको मन्त्रिपरिषदको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

हिजो बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन् । सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष गौतमलाई बनाउन चाहेपछि गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओलीले नै प्रस्ताव गरेका थिए।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि खतिवडालाई नै राष्ट्रिय सभामा पठाउन चाहेर सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुसार खतिवडा मन्त्री बनेका थिए। खतिवडाको ६ महिने कार्यकाल भोलि शनिबार भदौ २० गतेदेखि सकिँदैछ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम मन्त्रिपरिषद् बैठक रहनेछ ।

गौतमको राष्ट्रियसभा प्रवेशपछि अर्थमन्त्री डा. खतिवडाको पद भने धरापमा परेको छ । भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने थियो । तर सरकारको यो निर्णयले खतिवडा पुनः अर्थमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द भएको छ । स्रोतका अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गरेपछि खतिवडाको बिदाइ हुनेछ ।

यसैबीच अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख सल्लाहकार बनाउन चाहेको चर्चा परिचर्चा शुरु भएको छ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भएर प्रधानमन्त्रीलाई हरेक किसिमले सहयोग गर्ने खतिवडाको सचिवालय स्रोतले बताएको छ । अर्थमन्त्री निकट स्रोतका अनुसार केही समय अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने र उनले सल्लाहकारको रूपमा काम गर्ने सम्भावना पनि छ । अर्थमन्त्री निकट स्रोतका अनुसार उनी कुनै पनि देशको राजदूत बनेर नजाने बताएको छ ।

‘टेक्नोक्र्याट’ खतिवडा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका अनुभवी बिश्वास पात्रको बिज्ञतालाई प्रधानमन्त्री गुमाउन चाहदैनन् । खतिवडाको बहिर्गमन कोरोनाका कारण उत्पन्न देशको अत्यन्त प्रतिकुल आर्थिक अवस्थाका बीच भएकोले देश एउटा गम्भीर आर्थिक समस्यासँग जुध्दैछ ।

खतिवडाले अर्थमन्त्रालयलाई व्यवसायिक मर्यादामा राख्न जोडबल गरिरहे । खतिवडाले सुरुबाटै नेपालको वैदेशिक व्यापारको असन्तुलनलाई सम्वोधन गर्ने प्रयास गरेका थिए । पहिलो वर्षबाटै उनले विदेशबाट भित्र्याइने बिलासी वस्तुहरुमा उच्च कर लगाउने र स्वदेशबाट बाहिर जाने वस्तुहरुलाई विभिन्न सहुलियत दिने रणनीति लिएका थिए । यो नीतिको असर नेपालको वैदेशिक व्यापार सन्तुलनमा देखिएको छ ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्रीमा डा. युवराज खतिवडा दोहोरिने सम्भावना न्यून

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !