७ बैशाख २०८१, शुक्रबार

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न माग


नेपाली कांग्रेस

काठमाडौँ, १८ भदौ । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः माग गरेको छ ।

काँग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक प्रेस नोट जारी गरी कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक सङ्कट कम गर्न सो कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो । काँग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले विज्ञप्तिमार्फत सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको उल्लेख गर्दै यस्तो संवेदनहीनता र निष्क्रियताको निन्दा गर्नुभएको छ ।

नेपाल सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाउँदै उहाँले बन्दाबन्दी र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको टिप्पणी गर्नुभएको छ । अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको बन्दाबन्दी र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो भएको र निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिनुका साथै सङ्क्रमण बढ्नेक्रम पनि कम नभएको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !