१३ बैशाख २०८१, बिहिबार

लामो दुरीको सवारीसाधन र आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद्‌को निर्णय


मन्त्रिपरिषद्‌

काठमाडौं, भदौ १४ । नेपाल सरकारले लामो दूरीका यातायातका सवारीसाधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ । आज आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्‍चालन गर्ने अनुमति दिइसकेको छ ।

उनका अनुसार कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यो निर्णय गरिएको हो । राजधानीमा कोरोना भाइरसका संक्रमित बिरामी बढिरहेको बेला मन्त्रिपरिषदले साबिकको निर्णयमा पुनर्विचार गरेको हो ।

यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको ती मन्त्रीले बताए । साथै स्कुल कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय पनि गरिएको ती मन्त्रीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !