१२ बैशाख २०८१, बुधबार

बाँदरमुढे घटनाका पीडितसंग प्रचण्डले गरे लिखित सहमति


prachanda

१८ मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँदरमुढे घटनाका पीडितसँग आइतबार ३ बुँदे लिखित सहमति गरेका छन् । माडी नगरपालिकाको कार्यकक्षमा घटनाका केही घाइतेसँग उनले सहमति गरेका हुन्।

मृतकका आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति, बालबालिकाको पठनपाठनको व्यवस्था, घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था, घटनास्थलमा मृत्यु भएकाहरूको सम्झनामा स्मारक, नमुना संग्रहालय तथा चिडियाघर निर्माण र माडीलाई पर्यटकीय स्थल बनाउनेलगायतका विषयमा सहमति भएका छन् ।

बाँदरमुढे घटनापीडित संघर्ष समितिका पदाधिकारीले आफूहरूलाई सम्झौताका बारेमा केही थाहा नभएको बताएका छन् । सहमतिका बेला समितिका पदाधिकारीहरू थिएनन् । समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले अध्यक्ष दाहालले केही पीडितलाई प्रलोभनमा पारेर सहमतिको नाममा गरेको सम्झौताले स्तब्ध बनेको बताए ।

जनमोर्चा र केही एमालेका साथीहरू घटनाका पीडित छन् । उनीहरूलाई फकाएर सम्झौताको नाममा गुमराहमा पार्ने काम गरिएको समितिका पदाधिकारीको आरोप छ । ‘समितिका कुनै पनि साथीहरूलाई थाहा छैन,’ उनले भने, ‘बोलाएको भए गइन्थ्यो । हाम्रो माग भनेको न्याय र शान्ति सुरक्षा हो । तर घटनामा संलग्नलाई माफी दिइने काम गरे । यसले पीडितलाई झन पीडा दिने काम गर्‍यो ।’

बाँदरमुढे घटनापछि ९ सदस्यीय संघर्ष समिति गठन गरिएको थियो । अध्यक्ष दाहाल यही क्षेत्रबाट चुनावमा उठेका छन् । २०६२ जेठ २३ मा माडीको बाँदरमुढेमा तत्कालीन माओवादीले थापेको धरापमा परेर ३९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !