६ बैशाख २०८१, बिहिबार

ओली-प्रचण्ड सहमति नजिक : महासचिव पौडेलको नेतृत्वमा बन्यो ६ सदस्यीय कार्यदल


ओली-प्रचण्ड

काठमाडौं, साउन ३० । शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्षका कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्घटना हुनवाट जोगिएको संकेत देखिएको छ । नेकपाभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको हो । स्रोतका अनुसार आजको बैठकमा दुवै अध्यक्ष पार्टी एकतालाई थप मजबुत बनाएर अघि लैजान सहमत भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको पाइएको छ । नेकपामा अध्यक्षद्वय ओली र दाहालबीच कार्यदल मार्फत सुझाव लिएर पार्टीभित्र देखिएको समस्याको एकमुष्ट समाधान गर्ने सहमति जुटेको छ ।

आज भएको बार्तामा दुवै अध्यक्षबीच एकमुष्ट निकासका लागि कार्यदल मार्फत सुझाव लिने सहमति भएको हो । सोही सहमति अनुसार दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि चाडै गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।

महासचिव पौडेल नेतृत्वको सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् । सो कार्यदललाई पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने जिम्मेवारी तोकिएको छ । सोही कार्यदलले एकता महाधिवेशनदेखि पार्टीभित्र देखिएको समस्या समाधानको लागि एकीकृत सुझाव दिनेछ ।

यसअघि प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेकपा विवाद ५ दिनभित्र समाधान हुने संकेत गरेका थिए । ​असार १० गते शुरू भएको स्थायी कमिटी बैठक विवादका कारण पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

ओली र प्रचण्डवीच छलफल सकारात्मक, मन्त्रिपरिषद् हेरफेर र मुख्यमन्त्री परिवर्तन हुनसक्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !