६ बैशाख २०८१, बिहिबार

बामदेवले भने, ‘म ठूलो सानो कुनै पनि गुटमा लाग्दिनँ’


नेपाल सरकारको सिफारिसमा

काठमाडौं, साउन २१। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् । हिजो मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको र त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको बताएका हुन् ।

गौतम पछिल्लो समय ओली समूहतिर लागेको भन्ने टिकाटिप्पणी भइरहेको बेला उनले प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् । सुवेदीले सार्वजनिक गरेको गौतमको प्रष्टीकरण अनुसार मंगलबार पार्टी अध्यक्ष प्रचण्ड उपाध्यक्षलाई भेट्न जाँदा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट बताएका थिए ।

सो क्रममा प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी प्रश्न गर्दा उपाध्यक्ष गौतमले ‘म ठूलो-सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गरेका थिए । सोअघि साउन १३ गते गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राखेको प्रस्तावउपर सोही दिन प्रधानमन्त्री ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको गौतमको भनाइ छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली साउन १३ गते मंगलबार साँझ ७ बजे पत्नी राधिका शाक्य सहित भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका थिए । नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

गौतमले साउन १३ गते मंगलबार बिहान मात्रै पार्टी विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न साउन २० गते मंगलबार बिहान गौतम निवास भैंसेपाटी पुगेका छन् । केहि समययता प्रधानमन्त्री ओली निकट हुन थालेपछि वामदेवलाई फकाउन प्रचण्ड भैंसेपाटी पुगेको अनुमान गरिएको थियो ।

प्रचण्डले कम्युनिष्ट पार्टीका ४ जना नेतालाई आफूले प्रधानमन्त्री बनाएपनि वामदेवलाई अहिलेसम्म नसकेको तर चाँडै बनाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । यसबीचमा वामदेवले ओलीलाई छाडेर प्रचण्डलाई साथ दिँदै आएका थिए । राजनीतिक विश्लेषकका अनुसार गौतमको एकपटक प्रधानमन्त्री बन्ने तीब्र इच्छा रहेको छ ।

यो पनि पढ्नुहोस्

वामदेव फकाउँदै प्रचण्ड : गौतमलाई भेट्न पुगे भैंसेपाटी

प्रधानमन्त्री ओली पत्नी राधिकासँगै पुगे बामदेवको घरमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !