१३ बैशाख २०८१, बिहिबार

ओली-प्रचण्ड वार्ता असफल : ओली सचिवालय बैठकको अडानमा, प्रचण्ड स्थायी कमिटीको पक्षमा


ओली-प्रचण्ड बीच बालुवाटारमा भएको छलफल

काठमाडौँ, साउन १९ । पार्टीको आन्तरिक विवाद मिलाउन सहमति खोज्ने उद्धेश्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको वार्ता आज सकिएको छ । बालुवाटार स्रोतका अनुसार आजको वार्ता सौहार्दपूर्ण तरिकाले भएपनि सहमति हुन नसकेर असफल भएको छ ।

आजको वार्तामा पनि नेकपाका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई साक्षी राखेर पार्टीमा उत्पन्न गतिरोध हटाउन प्रयास गर्ने बुझिएको थियो । आजको छलफलमा प्रधानमन्त्री ओलीका पक्षबाट नेता सुभासचन्द नेम्वाङ र प्रचण्ड तर्फवाट झलनाथ खनाल समेत उपस्थित भएका थिए ।

आजको छलफलमा ओलीले पार्टीको विवाद समाधानका लागि सचिवालय बैठक गर्नुपर्ने अडान राखेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने स्थायी कमिटीको पक्षमा रहेको बुझिएको छ । अर्को भोली मंगलबार  साँझ ५ बजे फेरि बैठक बस्ने भएको छ ।

सचिवालयमा आफ्ना पक्षमा बहुमत पुग्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा छन् भने प्रचण्ड स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् । गत साउन १३ गते प्रधानमन्त्रीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले स्थायी कमिटी बैठकको अध्यक्षता गरेका थिए ।

नेकपाका उपाध्यक्ष बामदेव गौतमले साउन १३ गते मंगलबार मात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग र दबाब बढिरहेको परिप्रेक्षमा ओलीले साउन ३ गते शनिवार बालुवाटारमा बसेको सचिवालय वैठकमा यस्तो प्रस्ताव ल्याएका हुन् ।

तर, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले भने दुई नेताको सहमति र प्रस्ताव कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै औपचारिक रुपमा प्रस्ताव ल्याउन माग गरेका छन् । साथै बरिष्ट नेता नेपालले मंसिरमा महाधिवेशन सहज नभएको बताएका थिए ।

पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भएपनि नेताका अडानले सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्‍ने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा आज पनि झलनाथ र सुवासलाई साक्षी राखेर ओली-प्रचण्ड वार्ता जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !