६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली पत्नी राधिकासँगै पुगे बामदेवको घरमा


प्रधानमन्त्री केपी ओली र बामदेव गौतम

काठमाडौँ, साउन १३ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका छन् । आज मंगलबार साँझ ७ बजे पत्नी राधिका शाक्य सहित प्रधानमन्त्री ओली गौतमको घरमा पुगेका हुन् । गौतम र पार्टीका महासचिव विष्णु पौडेल छिमेकी भएकोले पनि पौडेल पनि गौतमकै घरमा छन् ।

गौतमले आज मंगलबार मात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए । गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहित को ६ बुँदे प्रस्ताव बुझाएका थिए ।

पार्टी एकता बचाउन आफूले प्रस्ताव ल्याएको गौतमको दावी छ । गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए ।

स्रोतका अनुसार बामदेवले राखेको ६ बुँदे प्रस्तावमा ओली सकारात्मक देखिएका छन् । गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बताएको छ । उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन् ।

नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन् ।

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !