७ बैशाख २०८१, शुक्रबार

पुष्पलालका युगजयी विचार अध्ययन अनुसन्धान गर्न केन्द्र सञ्चालनमा ल्याउने


पुष्पलाल

गण्डकी, ६ साउन । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन अनुसन्धान गर्ने स्थलका रुपमा अध्ययन केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

पुष्पलाल अध्ययन केन्द्रको सक्रियतामा पोखरा महानगरपालिका–२१ फेदीपाटनमा रु एक करोड ५० लाखको लागतमा निर्मित तीनतल्ले पक्की भवनमा सो अध्ययन केन्द्र स्थापना गरी सञ्चालनको तयारी गरिएको हो ।

तत्कालीन जहानिया राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने सोचका साथ अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको केन्द्रका अध्यक्ष एवं नेकपा गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारीले बताउनुभयो ।

“नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सार्नुभएका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भाबी पुस्तामाझ पु¥याउने सोचका साथ अध्ययन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेका हौँ,” उहाँले भन्नुभयो ।

अधिकारीका अनुसार नवनिर्मित भवनमा ई पुस्तकालय, तालीम कक्ष, पुष्पलालका सम्बन्धमा अध्ययन अनुसन्धान तथा खोजी गर्ने व्यक्ति वा संस्थाका लागि आवश्यक नवीनतम प्रविधिसहितको वातावरण तयार गरिनेछ । केन्द्रले रु १० लाखमा खरिद गरेको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था एवं व्यक्तिको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गर्नुभएको जानकारी दिँदै सह–इञ्चार्ज अधिकारीले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएपछि नेपालमा कम्युनिष्ट आन्दोलनको विजारोपण भएको उल्लेख गर्नुभयो ।

केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका उहाँका सहपाठी एवं अनुयाइ कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको शालिक निर्माण गरिएको छ । उक्त स्थानमा रहेको लगभग एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारीलगायतका नेताहरूको शालिक निर्माणसहित आवश्यक भौतिक पूर्वाधार तयार गरी अध्ययन अनुसन्धान एवं आकर्षक पार्कको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

नवनिर्मित भवनमा सभाहलसहित पुस्तकालय एवं बैठक कक्ष, प्राविधिक र अतिथि कक्ष गरी १२ वटा कक्ष रहेको पुष्पलाल अध्ययन केन्द्रका महासचिव एवं भवन निर्माण समितिका अध्यक्ष भीम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कूल रु एक करोड ५० लाखको लागतमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भवन निर्माणका लागि पटक पटक गरी रु एक करोड २० लाखका साथै फर्निचरका लागि रु २९ लाख प्राप्त भएको छ । त्यस्तै भवन निर्माणकै लागि पोखरा महानगरपालिकाबाट रु १० लाख प्राप्त भएको उहाँले बताउनुभयो ।

अध्ययन केन्द्रका रुपमा सङ्ग्रहालय रहने र त्यहाँ पुष्पलालका जीवनीका विभिन्न पक्ष समेटिने किसिमका सामग्री राख्ने तयारी गरिएको छ । उक्त परिसरमा पुष्पलाल बाटिका निर्माण गरिने योजनानुरुप प्रत्येक वर्ष पुष्पलाल स्मृति दिवसका अवसरमा वृक्षरोपणसमेत गरिँदै आइएको छ ।

केन्द्रसम्म सर्वसाधारणको सहज पहुँच विस्तारका लागि गण्डकी प्रदेश सरकारको पहलमा पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्नका लागि फुस्रे खोलामाथि रु १४ करोडको लागतमा पक्की पुल निर्माण गर्ने तयारीसमेत भइरहेको पुष्पलाल अध्ययन केन्द्रले जनाएको छ । पुल निर्माणसँगै पोखरा महानगरपालिका वडा नं. २१ र ३३ सहित स्याङजा जिल्लाको पूर्वी भेगका जनतालाई आवतजावतमा सुविधा पुग्ने स्थानीय गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विसं १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठबाट जन्मेका पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो ।

स्मृति दिवसका अवसरमा पोखरा–७ शान्तिनगरस्थित पुष्पलाल स्मृति पार्कमा रहेको अर्धकदको शालिकमा आज नेकपाका नेता तथा कार्यकर्ताले माल्यार्पण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !