८ बैशाख २०८१, शनिबार

आज पुष्पलालको ४२ ‍औं स्मृति दिवस मनाइँदै


पुष्पलाल

काठमाडौं, साउन ७ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड-१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।

पुष्पलाल स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा श्रद्धाञ्जलीसभाको कार्यक्रम राखिएको तुलाधरले जानकारी दिनुभयो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो । रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो । आफ्नो जीवनभर सङ्गठन विस्तारमा लाग्नुभएका उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ । नेकपा केन्द्रीय कमिटीले भने स्मृति दिवसका अवसरमा कुनै कार्यक्रम नराखेको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !