७ बैशाख २०८१, शुक्रबार

स्वीस बैंकमा प्रधानमन्त्रीको खाता छैन : प्रेस सल्लाहकार थापा


सूर्य थापा

काठमाडौँ, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको कुरा शतप्रतिशत गलत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट पारेका छन् । उनले तथाकथित यो रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्टिकरण दिएका छन् ।

आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले “ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति ध्यानाकर्षण भएकाे बताएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रबैया खेदजनक छ ।’

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट रहेको छ’ प्रेस सल्लाहकार थापाले जारी गरेकाे प्रेस नाेटमा उल्लेख छ।

‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु’, उनले भनेका छन् ।

सल्लाहकार थापाले केही सञ्‍चार माध्यमले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्य गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकायसँग माग गरेका छन् ।

ग्लोबल वाच एनालिसिसको हवाला दिँदै केही भारतीय सञ्चार माध्यमले तथ्यहीन समाचार प्रकाशित गरेपछि नेपालका केही अनलाइन मिडियाले पनि त्यसैलाई आधार बनाएर गलत समाचार प्रकाशित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !