११ बैशाख २०८१, मंगलबार

प्रदेश नम्बर ७ मा चुनावी सरगर्मी बढ्यो


pradesh-no-7

कात्तिक २३, कैलाली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै ७ नम्वर प्रदेशमा चुनावी सरगर्मी बढेको छ । ९ जिल्ला रहेको प्रदेश नम्वर ७ मा दुई चरणमा निर्वाचन हुँदैछ । प्रदेश नम्बर ७ का ४ जिल्लामा पहलो चरणमा निर्वाचन हुनेछ भने ५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

पहिलो चरण अन्तर्गत मंसिर १० गते बैतडी, बाजुरा, बझाङ र दार्चुलामा निर्वाचन हुँदैछ भने कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाममा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा ७ नम्बर प्रदेशका ९ जिल्लामा १४ लाख ३५ हजार ६ सय ७३ मतदाता छन् । जसमध्ये पुरुष ६ लाख ९६ हजार ५ सय ८०, महिला ७ लाख ३९ हजार ७७ र तस्रो लिङ्गी मतदाताको संख्या १६ छ ।

प्रदेश नम्बर ७ मा सबैभन्दा बढी कैलालीमा मतदाता छन् भने सबैभन्दा कम बाजुरामा छन् । कैलालीमा ४ लाख ६० हजार ५ सय ७८ मतदाता छन् भने बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता छन् । त्यस्तै बझाङमा १ लाख ४ हजार २ सय ७५, अछाममा १ लाख ३६ हजार ९ सय ३, डोटीमा १ लाख ६ हजार ५ सय ४३, बैतडीमा १ लाख ३२ हजार ३ सय १९, कञ्चनपुरमा २ लाख ६४ हजार ९ सय ७३, दार्चुलामा ७८ हजार ५ सय १३ र डडेल्धुरामा ८१ हजार ७ सय ३५ जना मतदाता छन् ।

प्रदेश नम्बर ७ मा मतदाताहरुले पहिलो र दोस्रो चरण हुने निर्वाचनमा १६ प्रतिनिधि सभा सदस्य र ३२ प्रदेश सभा सदस्यका लागि मतदान गर्नेछन् । जसमा प्रदेश नम्बर ७ मा सबैभन्दा बढी कैलाली जिल्लाबाट ५ जना प्रतिनिधि सभा सदस्य र १० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् भने प्रतिनिधिसभातर्फ कन्चनपुरबाट ३, अछामबाट २ र अन्य ६ जिल्लामा १/१ जना तथा प्रदेश सभामा त्यसको दोब्बर संख्यामा प्रतिनिधि चयन हुनेछन् ।

यस प्रदेशमा राजनीतिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभातर्फ १ सय १८ र प्रदेशसभातर्फ १ सय ९१ गरी कुल ३ सय ९ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशमा समग्रमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक र एमाले—माओवादी सम्मिलित बाम गठबन्धनबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !