६ बैशाख २०८१, बिहिबार

गलत सञ्चार सामग्रीले नेपाल र भारत बीचको भावनामा गम्भीर आघात पुर्याउँछ : परराष्ट्र मन्त्रालय


परराष्ट्र मन्त्रालय

काठमाडौँ, २८ असार । केही भारतीय सञ्चार माध्यमले नेपाल र नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामा सरकारले आपत्ति जनाएको छ । ती भारतीय माध्यममा आएका नेपाल सम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील र नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ छ ।

भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृंखल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबास मार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित उच्छृंखल सामग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

सरकारले भारतीय सञ्चार माध्यमबारे बनाएको धारणामा भनिएको छ, “त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतम सभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको छ । यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल र भारत बीचको भावनामा गम्भीर आघात पुर्याउन सक्नेछ ।”

नेपाल र भारत बीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेको एवं आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास र परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ छ ।

आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा र आचारसंहिताका बारेमा पनि स्मरण गराएको छ । त्यस प्रकारका गलत, विभाजनयुक्त र घृणायुक्त सामग्रीले नेपाल र नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकी मुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको छ । त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न र आगामी दिनमा यस्तो नहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !