८ बैशाख २०८१, शनिबार

उम्मेदवारहरु भोट माग्न खेतखेतमै , मतदाता दंग !


baglung-photo

कात्तिक २१, बागलुङ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बाग्लुङमा दलहरु चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार सदस्यका लागि दलहरुले आ–आफ्नो पक्षमा मत पार्न चुनावी अभियान थालेका छन् । बाग्लुङमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको कम्युनिष्ट गठबन्धनको सीधा प्रतिस्पर्धा हुन लागेको हो ।

यद्यपि, नेकपा माले, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा राष्ट्रवादी, देशभक्त गणतन्त्र मोर्चा, आमुल परिवर्तन पार्टीलगायतले पनि आफ्ना उम्मेदवार उठाएका छन् । २७ जना उम्मेदवार आगामी निर्वाचनबाट आफ्नो भाग्य परीक्षा गर्दैछन् । राप्रपाले भने कांग्रेसलाई समर्थन गरेको छ । दलहरु प्रचार–प्रसार र मतदातालाई आफ्नो पक्षमा पार्न सदरमुकामदेखि ग्रामीण क्षेत्रसम्म सभादेखि घरदैलो गरिरहेका छन् । किसान धान भित्र्याउने चटारोमा खेत–खलियानमा रहेकाले उम्मेदवारहरु पनि त्यही पुग्न थालेका छन् । खेतखेतमै पुगेर उनीहरु मत मागिरहेका दृष्य देख्न पाइन्छ ।
संविधान कार्यान्वयन र विकासको मूल एजेन्डा दलहरुले बनाएका छन् । यिनै मुद्दा बोकेर मैदानमा उत्रिएकी प्रतिनिधिसभा सदस्यका लागि बाग्लुङ–१ बाट कांग्रेस उम्मेदवार चम्पादेवी खड्का मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गर्छिन् ।
उम्मेदवारहरु मतदातासमक्ष जिल्लाको विकासका लागि पहल गर्ने र जनपक्षीय काम गरिरहने बाचा गर्दैछन् । मतदाता भेटघाटको चटारोमा रहेका उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न धान काटिदिने, दाइँ हाल्ने, कोदो कुट्नेजस्ता काममासमेत सघाउँछन् । खेतबारीमै उम्मेवारलाई पाउँदा सर्वसाधारण पनि खुुसी छन् । प्रतिनिधिसभा सदस्यका लागि बाग्लुङ–१ बाट वाम उम्मेदवार डा. सूर्य पाठक मुलुकको समृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक क्रान्तिका लागि आफ्नो उम्मेवारी रहेकाले जित निश्चित रहेको दाबी गरे ।
१ नम्बर क्षेत्रमा कांग्रेसबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री खड्का, एमालेबाट पाठक, नयाँ शक्ति पार्टीबाट कृष्णप्रसाद शर्मा, संघीय फोरमबाट महेन्द्रबहादुर जिसी, राप्रपा राष्ट्रवादीबाट सुमनजंग राजभण्डारी र नेकपा मालेबाट निरबहादुर क्षत्री चुनावी मैदानमा छन् । बाग्लुङ–२ मा भने वाम गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल, नेपाली कांग्रेसका निरज पुनलगायत उम्मेदवार रहेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’मा कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, संघीय फोरमका बद्रीकुमार श्रेष्ठ, राप्रपा राष्ट्रवादीका जयलाल सापकोटा, नयाँ शक्तिका युनिस मियाँ छन् ।
त्यस्तै, क्षेत्र नम्बर–१ को ‘ख’मा कांग्रेसबाट पूर्वसांसद प्रकाश पौडेल र वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, क्षेत्र नम्बर–२ को प्रदेशसभातर्फ ‘क’मा कांग्रेसका मन्जेश बम मल्ल, माओवादी केन्द्रका चन्द्रबहादुर बूढा, फोरमका वीरबहादुर दर्जी, क्षेत्र नम्बर–२ को ‘ख’मा राजमोका टेकबहादुर घर्ती, संघीय फोरमका यमकुमार पुनलगायतको उम्मेदवारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !