६ बैशाख २०८१, बिहिबार

ओली-प्रचण्ड बीच बालुवाटारमा निर्णायक छलफल जारी


प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, २२ असार । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज मंगलवार निर्णायक छलफल जारी रहेको छ ।

केहीबेरअघि मात्रै प्रचण्ड बालुवाटर पुगेको र छलफल सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षहरू बीच केहिबेर अघि शुरु भएको छलफलमा पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटिका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ । आज पनि छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ ।

यसअघि हिजो दुई अध्यक्ष बीच गतिरोध अन्त्यका लागि छलफल भएपनि सहमतिमा पुग्न सफल भएन । अस्ति आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएर बैठक भोलि असार २४ गते बुधवार बिहान ११ बजे बस्ने भएको छ ।

स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । तर ओली कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । जसले गर्दा पार्टी विभाजन हुनसक्ने भन्दै नेताहरुबीच आन्तरिक छलफल र दौडधुप चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !