८ बैशाख २०८१, शनिबार

विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन कांग्रेसले पहल गर्ने


कात्तिक २०, बिराटनगर । नेपाली कांग्रेस मोरङका उम्मेदवारहरुले विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रेस युनियन मोरङले आज विराटनगरमा गरेको उम्मेदवारहरुको परिचय र प्रतिबद्धता कार्यक्रममा नेपाली कांग्रेस मोरङबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकाहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनीहरुले विराटनगरको भौतिक पूर्वाधार विकासमा समेत एकजुट भएर लाग्ने बताए । प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश आचार्यले बिराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु एकमत भएको बताए ।
प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार डा.मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टीहरु मिलेर मुलुकमा सर्वसत्तावाद ल्याउन खोजेको आरोप लगाए । उनले वाम गठबन्धनलाई निर्वाचनमा विजयी हुनबाट रोक्न आवश्यक भएको बताए ।
नेता रिजालले माओवादी केन्द्रले निर्वाचनको स्वार्थका लागि मात्र एमालेसँग गठबन्धन गरेको दाबी गर्दै एमालेसँगको गठबन्धनको बाटो परिवर्तन गर्नसमेत सुझाव दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !