८ बैशाख २०८१, शनिबार

ओलीसँगको निर्णायक छलफल अघि प्रचण्ड, झलनाथ र माधव शीतलनिवासमा


शीलत निवास

काठमाडौं, असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चर्किएको आन्तरिक व्यक्तिगत शीतयुद्धले जटिल रुप लिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न आज आइतबार बिहान ११ बजे शितलनिवास पुगेका हुन् ।

एकताको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता हुनुअघि ३ जना शीर्ष नेताहरु शीतलनिवास पुगेका हुन् । पार्टीको आन्तरिक झगडमा राष्ट्रपति समेत तानिएको अवस्थामा ३ शीर्ष नेताहरूसँग सामूहिक भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

दल विभाजन सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी प्रधानमन्त्री ओलीले गरिरहेको र सो अध्यादेश राष्ट्रपतिकोमा पुगेको भन्ने सूचना शीर्ष नेताले पाएको दाबी गरिएका बेला प्रचण्डसहितका नेताहरु शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग उनीहरुले सो विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्‍त्रीले शनिबार अपरान्ह मन्‍त्रीहरुलाई बालुवाटार बोलाएर आफ्नो लाइन क्लियर गर्न र आफूलाई साथ नदिने मन्‍त्रीहरुलाई बाहिरिन आग्रह गरेपछि आन्तरिक विवादले थप गम्भीर मोड लिएको हो। ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको प्रचार गरेपछि राष्ट्रपतिसमेत पार्टी विवादमा मुछिएकी छिन्।

असन्तुष्ट पक्षले हुँदै नभएको विषय उचालेर राष्ट्रपतिलाई जबरजस्ती पार्टी झगडामा तानेको आरोप लगाएका छन् । बाहिरको आलोचना र पार्टीभित्रबाट घेराबन्दीमा परेका ओलीले राष्ट्रपतिलाई समेत प्रभावमा लिएर केही कदम चाल्‍नसक्ने अनुमान र आशंका गरिएका छन्।

यसअघि गएको बिहीबार पनि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । उक्त भेटमा पनि दाहालले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याउने तयारी गरेकोबारे राष्ट्रपति भण्डारीसँग जिज्ञासा राखेका थिए ।

केपी ओलीले आफूलाई र राष्ट्रपतिलाई हटाउने षडयन्त्र भइरहेको बताएपनि नेकपाका नेताहरुले त्यसको खण्डन गरेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिका विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने प्रचार झुटो रहेको बताएका छन् । अहिले दुई अध्यक्ष ओली र दाहालबीच छलफलका लागि समय टुंगो लगाइएपनि दाहाल आफूपक्षिय नेताहरुसहित शीतल निवास पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !