७ बैशाख २०८१, शुक्रबार

ओली-प्रचण्ड बीच बालुवाटारमा निर्णायक छलफल जारी


प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ, असार २१ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज आइतवार निर्णायक छलफल जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि दुई अध्यक्षहरूबीच शुरु भएको छलफलमा ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार हानिएका हुन् । केहीबेरअघि देखि ओली र दाहालबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाहालको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन् ।

दुवै अध्यक्ष आ-आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको छ । शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ-आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !