७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समुहको झम्सिखेल भेलाको निष्कर्ष : पार्टी बैठकबाट ओलीलाई पद छोड्न निर्णय गराउने


प्रचण्ड-नेपाल समूह

काठमाडौं, असार १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेल भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा सम्पन्न ४५ सदस्यीय स्थायी समितिका बहुमत सदस्यको भेलाले स्थायी समिति बैठकबाट त्यस्तो निर्णय गरेर पद छोडाउने निष्कर्ष निकालेको एक स्थायी समिति सदस्यले बताएका छन् । भोलि बस्ने स्थायी समिति बैठकमा कसरी रणनीति तय गर्ने भन्नेबारे छलफल गर्नको लागि भेला भएको थियो ।

साँझ ५ बजेबाट ८ बजेसम्म चलेको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ३० जना नेता सहभागी थिए । भेलामा पर्यटनमन्त्री योगेश भट्टराईबाहेक सरकारमा सहभागी प्रचण्ड र नेपालनिकट सबै मन्त्रीहरू सहभागी थिए । बुधबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको परामर्शमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’समेत बैठकमा सहभागी भएको एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

बिहीबार बस्ने बैठकको रणनीति तय गर्न प्रचण्ड-माधव नेपाल समूहको झम्सिखेलमा भेला

नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष र प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !