८ बैशाख २०८१, शनिबार

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक भोलि बस्ने


नेकपा स्थायी कमिटी बैठक

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । बैठक सुरु भएसँगै नेताहरु सदनमा जानुपर्ने भन्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

उनका अनुसार आजको बैठक भिन्न कार्यसूचिमा नै केन्द्रित भई संचालन भएको आजको बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेकाे, त्यसमा पार्टीका नेताहरूकाे संलग्नता रहेकाे र दुई दिनअघि निर्वाचन आयाेगमा दर्ताकाे लागि आवेदन परेकाे भनिएकाे नेकपा(एमाले) काे सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिएका थिए ।

आजको बैठकमा ५ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य लिलामणि पोखरेल र मात्रिका यादवले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

आजको बैठकमा एनके प्रसाईँ, पेशल खतिवडा र योगेश भट्टराईले वार्ता र संवादबाटै नेतृत्वले निकास निकाल्नुपर्नेमा जोड दिएका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

त्यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा भोलिसम्मका लागि स्थगित गरेर वार्ता गर्ने विषयमा छलफल भएको थियो । त्यसैअनुसार आजको बैठक स्थगित गरेर भोलि बिहान ११ बजे फेरि स्थायी कमिटी बैठक बस्ने तय भएको स्रोतको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !