, नेकपाका अन्य शीर्ष नेताहरुको माग : ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्छ

नेकपाका अन्य शीर्ष नेताहरुको माग : ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्छ

काठमाडौं, असार १६ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बसेको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाका अनुसार अर्को बैठक भोलि असार १७ गते विहान ११ बजे फेरि बस्ने भएको जानकारी दिएका छन् ।

नेकपाका अन्य शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार भारत र नेपालकै नेताहरुले मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको दाबी गरेका थिए । यसलाई लिएर नेकपाकै नेताहरुले ओलीमाथि प्रश्न गरेका पनि छन् । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकको सुरुमा पछिल्लो अभिव्यक्तिलाई लिएर अध्यक्ष प्रचण्डले विषय प्रवेश गराएका थिए भने ओलीले जवाफ दिएका थिए ।

एक नेताका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको बताएका थिए ।

प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाका अनुसार नेकपा स्थायी कमिटीकाे बैठक आज चाैथाे दिन निर्धारित एजेन्डा भन्दा भिन्न कार्यसूचीमा केन्द्रित भई संचालन भएकाे बताएका छन् । बैठककाे शुरूवातमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेकाे, त्यसमा पार्टीका नेताहरूकाे संलग्नता रहेकाे र दुई दिनअघि निर्वाचन आयाेगमा दर्ताकाे लागि आवेदन परेकाे भनिएकाे नेकपा (एमाले) काे सम्बन्धमा छलफल भएको पनि उनले जानकारी दिएका छन् ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेकोले यो पार्टी कसले, किन दर्ता गर्न लागेको हो? भनि प्रश्न गरेका थिए। जवाफका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए। ‘गोपाल किराँतीका माओवादी केन्द्र दर्ता छ त। मैले त यो कसले किन दर्ता गर्‍यो भनेर तपाईंलाई सोधेको छैन’, प्रधानमन्त्रीलाई उदृत गर्दै स्रोतले बताएको छ ।