१३ बैशाख २०८१, बिहिबार

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक १६ गते बस्ने


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, असार १३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बसेको स्थायी कमिटी बैठक सकिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक २ दिन स्थगित गरेर असार १६ गते विहान ११ बजे अर्को बैठक फेरि बस्ने भएको छ ।

भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने उनले जानकारी दिएका छन् । आज शनिबार बसेको बैठकमा सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो ।

२१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताएका छन् । भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा सदस्यहरूले धारणा राखेको उनको भनाइ छ । असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुने उनले जानकारी दिएका छन् ।

आज शनिबार बसेको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यस्थिति त्यति अनुकूल नभएकोले केहीबेर बसेर निस्केका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीकाे बैठककाे तेस्राे दिन आज २१ जना सदस्यहरूले आ-आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक पार्टी अध्यक्षद्वयकाे उपस्थितिमा शुरू भएकाे र केही समयपछि प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यकाे असहजताकाे जानकारी गराएर बैठकवाट बाहिरिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र महासचिव विष्णुप्रसाद पाैडेलले बैठक निरन्तर अघि बढाएक थिए ।

आजको बैठकमा हिजाेदेखि जारी नेपालकाे सीमा समस्या र समाधानका बारेमा देवेन्द्र पाैडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पाेखरेल, टाेपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गाैतम, याेगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पाेखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्ना विचार राखेको उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु