१३ बैशाख २०८१, बिहिबार

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय


सचिवालय बैठक

६ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको छ । नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले ७ वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार बसेको सचिवालय बैठक नागरिकता विधेयकमाथि छलफल गरेको छ । बैठकले ७ वर्षपछि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

सचिवालय बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र सो अवधिसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको हो । वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नका लागि जन्म देशको नागरिकता भने परित्याग गर्नुपर्ने छ ।

प्रमुख विपक्षी कांग्रेसले भने अङ्गीकृत नागरिकताबारे हाल रहेको व्यवस्थालाई नै कायम गरिनुपर्ने बताएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले चाहेका बखत नेपाली नागरिकता लिन सक्ने विद्यमान व्यवस्था छ ।

राज्य व्यवस्था समिति र संसदमा नेकपाको झण्डै दुई तिहाई बहुमत रहेकाले नागरिकता ऐन २०६३ संशोधन भएर वैवाहिक अङ्गीकृत नागरिकताका लागि ७ वर्ष पर्खिनुपर्ने व्यवस्था लागु हुने लगभग निश्चित जस्तै भएको छ ।

नेकपाका नेताहरुले शुक्रबार राज्य व्यवस्था समितिमा रहेका आफ्ना सांसदसँग विधेयकबारे छलफल गरेका थिए । सोही अनुसार शनिबार सचिवालयले निर्णय गरेको हो । नेकपाले निर्णय गरेसंगै अब नागरिकता विधेयक अघि बढ्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !