६ बैशाख २०८१, बिहिबार

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित


प्रतिनिधिसभा फाइल फोटो

काठमाडौँ, ३१ जेठ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाई बहुमत भन्दा बढीले पारित भएको छ । प्रतिनिधिसभाबाट दोस्रो संविधान संशोधन विधेयकको मतदानमा २५८ जना सांसदहरुले भाग लिएका थिए भने सवै २५८ जनाले पक्षमा, बिपक्षमा र दिन्न भनेमा कुनै मत खसेको थिएन । त्यसैले गर्दा उक्त दोस्रो संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढीले मतले पारित भएको हो । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको घोषणा गरेका छन् ।

दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफल सकिएपछि उहाँले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । विधेयक पारित हुन प्रतिनिधिसभाका हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमतले पारित गरेको छ ।

सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा. तुम्बाहाङ्फेले जेठ १८ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सर्वसाधारणको जानकारीका लागि सोही दिन नेपालपत्रमा प्रकाशन गरिएको थियो । प्रतिनिधिसभाको जेठ २७ को बैठकमा मन्त्री डा तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सो स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदलाई ७२ घण्टाको समय उपलब्ध गराइएको थियो ।

प्रतिनिधिसभाबाट दुई तिहाइ बहुमतका आधारमा पारित भएपछि उक्त विधेयकले अव राष्ट्रियसभामा प्रवेश पाउनेछ । त्यहाँ पनि प्रतिनिधिसभामा जस्तै विभिन्न प्रक्रिया पूरा गरी निर्णयार्थ पेश भई दुई तिहाइका आधारमा विधेयक अनुमोदन गर्नुपर्नेछ ।

संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्नेछ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुनेछ र सोही मितिदेखि संशोधित संविधान लागू हुनेछ ।

मन्त्रिपरिषद्ले जेठ ५ गते नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्शा सार्वजनिक गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त विधेयकका पक्षमा मतदान गरेका छन् ।

यो पनि पढ्नुहोस् 

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : अध्यक्ष दाहाल

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छ : सभापति देउवा

सभामुखद्वारा सरिता गिरीको संविधान संशोधन प्रस्ताव अस्वीकृत

संविधान संशोधन विधेयक आज पारित हुँदै, सरिता गिरीको प्रस्ताव पेश नहुने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !