१३ बैशाख २०८१, बिहिबार

दुलही झैँ सिँगारिँएर धपक्क बलेको दशरथ रंगशाला (फोटो फिचर)


दशरथ रंगशाला

मंसीर १०, काठमाडौँ । देशमा अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को रौनक एकदम बढेको छ । काठमाडौँका चोक-चोकमा सागको प्रचार-प्रसारका लागि फ्लेक्सहरु, ब्यानरहरु टाँसिएका छन् भने बिभिन्न टेलिभिजनहरु, ठुला-ठुला टेलिभिजन स्क्रीनमा, अनलाइन र पत्रपत्रिकामा प्रचार-प्रसार तीब्र गतिमा भई रहेको छ ।

दशरथ रंगशाला नेपालको अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा ठूलो रंगशाला हो । नेपालमा तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुदको कुम्भ मेला सागको भब्य उद्घाटनसहित केही खेल यही रंगशालामा हुनेछ । दशरथ रंगशालामा यसअघि सन् १९८४ को पहिलो र सन् १९९९ को आठौं संस्करणको साग भब्य रुपमा उद्घाटन भएको थियो । त्यतिवेला स्वर्गीय राजा विरेन्द्र विरबिक्रम शाहले सागको उद्घाटन गरेका थिए ।

२० बर्षपछि नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्र भब्य हुने भएको छ । दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोह बीच महादेशीय खेलकुदको महाकुम्भ सागको भब्य उद्घाटन गर्नेछिन् । ३ घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालले आफ्नो देशको सबै कला प्रस्तुत गर्नेछ ।

संघीय नेपालको सातवटै प्रदेशको कला, संस्कृति र विविधतालाई उद्घाटन सत्रमा देखाईनेछ । १५ हजार कलाकारले दशरथ रंगशालामा गीत संगीत सहितको विशेष प्रस्तुती दिनेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तब्य राख्ने बताईएको छ । उद्घाटन सत्रमा सागमा सहभागी सातै देशका खेलाडी र पदाधिकारीले मार्चपास गर्नेछन् । उद्घाटनमा ७ राष्ट्रका सरकारका विशेष प्रतिनिधि र खेल सम्बद्ध पदाधिकारीको समेत उपस्थिति रहनेछ ।

१३ औं सागमा नेपालबाट ५९७ खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि प्याराग्लाइडिङ पनि समावेश थियो तर सहभागी देशको संख्या नपुगेपछि हटाइएको छ । सागमा करिब ४ हजार खेलाडीले ३ सय १७ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन समारोह सहित रंगशालामा फुटबल खेल हुनेछ । त्यहीँको ट्रयाकमा एथ्लेटिक्स खेल हुनेछ ।

यहि रंगशाला उद्घाटन समारोह भव्य बनाउने र त्यसका लागि दशरथ रंगशाला कसरी तयार पार्ने भनेर अहिले काम भइरहेको छ । भीआईपी प्याराफिटमै सिट राख्न बाँकी छ । साधारण प्याराफिटतर्फ भने लगभग १२,७१२ सिट राखि सकेको छ । भीआईपी प्याराफिटमा २,९६० सिट, भीआईपी प्याराफिट भित्र मेडियालाई १२० सिट र भीभीआईपीलाई ३६ सीट गरी भीआईपी प्याराफिटमा जम्मा ३,११६ सिट रहेका छन् । यसरी साधारण प्याराफिट र भीआईपी प्याराफिट गरी दशरथ रंगशालामा जम्मा १५,८२८ सीट रहेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) उद्घाटन यहि गरिने भएकोले दशरथ रंगशाला धपक्क बलेको छ भने यसलाई दुलही झैँ सिँगारिँएको छ ।

हेर्नुहोस फोटोहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !