१२ बैशाख २०८१, बुधबार

एक चीन नीतिमा नेपाल गरेको प्रतिबद्धतामा चीन उत्साहित


डा. नारायण खड्का र वाङ यी

काठमाडौं । नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि उत्तरी छिमेकी मुलुक चीन उत्साहित देखिएको छ ।

चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ । नेपालले ‘एक चीन नीति’मा आफ्नो धारणा प्रस्ट राखेपछि चीनले प्रशंसा गरेको हो ।

समकक्षीसँगको भेटवार्तालाई नेपालस्थित परराष्ट्र मन्त्रालयले ‘सौहार्दपूर्ण र फलदायी’ भनेको छ । दुवै मन्त्रीले ‘नेपाल–चीन सम्बन्धका सबै पक्ष समीक्षा गर्दै आपसी हित क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति जनाएको’ मन्त्रालयको ट्विटर ह्यान्डमा उल्लेख छ ।

दुई मन्त्रीबीच चीनको सान्दोङ प्रान्तस्थित छिङ्दाओमा सहरमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।

पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले नेपालसँग ‘एक चीन नीति’को प्रतिबद्धता खोजेको थियो । नेपालस्थित चिनियाँ राजदूतले ताइवानको विषयलाई लिएर ‘नेपालले एक चीन नीतिमा नेपालले समर्थन गर्ने’ भन्दै वक्तव्य जारी गरेकी थिइन् ।

चीनले ताइवान विषयलाई लिएर नेपालको समर्थन खोजिरहेका बेला मंगलबार चीन पुगेका परराष्ट्रमन्त्री खड्काले प्रतिबद्धता जनाएपछि चीन खुसी देखिएको हो ।

चीनले ‘ताइवान विषयमा नेपाल मात्रै होइन, विश्वभरबाट ‘एक चीन नीति’को समर्थन खोजेको थियो । ताइवानमा अमेरिकी सभामुख पेलोसीको भ्रमणले चीन सशंकित बनेको थियो । उनको ‘भ्रमणले थप तनाब दिन सक्ने’ देखिएपछि चीनले विश्वका सबै देशलाई ‘एक चीन नीतिमा प्रतिबद्धता जनाउन’ आह्वान गरेको थियो ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यीबीच सीमा समस्या पनि छलफल भएको छ । सन् १९६० को दशकमा भएको ‘सीमा सन्धि र प्रोटोकलअनुसार संयुक्त सीमा अनुगमन अघि बढाउने’ सहमति नेपाल र चीनबीच भइसकेको छ । दुई देशबीच गत महिना आयोजित ‘सहसचिवस्तरीय सीमा संयन्त्र बैठक’मा सो सहमति भएको हो ।

कोभिड–१९ संक्रमण बढेसँगै बन्द रसुवागढी नाका खोल्ने विषयमा पनि सहमति भएको छ । लामो समयदेखि रसुवागढी–केरुङ नाका बन्द हु“दा नेपाली व्यापारी चीनतर्फको भूमिमा जान सकिरहेका छैनन् । चीनले नेपालतर्फ एकतर्फी सामान निर्यात गर्दै आएको छ ।

विगतमा दुई देशबीच सम्झौता र सहमति हुने कार्यान्वयन पक्ष फितलो भएको विषयमा छलफल भएको छ । विगतमा भएका सहमति कार्यान्वयनका लागि नेपालले चीनलाई ध्यानाकर्षणसमेत गराएको छ । सहमति कार्यान्वयनका लागि चीन तयार रहेको चिनियाँ विदेशमन्त्री वाङले बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको कात्तिक २०७६ मा भएको ‘नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएका सम्झौता र सहमति कार्यान्वयन हुन नसकेको’ विषयमा नेपालले ध्यानाकर्षण गराएको हो ।

त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा हस्ताक्षर भएको पारवहन सम्झौता पनि प्रभावकारी कार्यान्वयन भएको छैन । पछिल्लो समय चिनियाँ विदेशमन्त्री वाङ गत चैत दोस्रो साता नेपाल आउँदा पनि विभिन्न नौ सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

आर्थिक तथा प्राविधिक सहयोग सम्झौता, नेपालमा चीन–नेपाल सीमापार चल्ने रेलमार्गसम्बन्धी परियोजना सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, चीन–नेपाल पावर ग्रिड इन्टरकम (प्रसारण लाइन) सम्भाव्यता अध्ययनलगायत विषयमा हस्ताक्षर भएको थियो । तर, अझै ती सम्झौता कार्यान्वयन हुन सकेका छैनन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !