८ बैशाख २०८१, शनिबार

अर्थ मन्त्रालय सीसीटिभी फुटेज प्रकरण : जनार्दन शर्मालाई आज बोलाइयो


जनार्दन शर्मा फाइल फोटो

काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’ बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप लगाइएको छ । निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी बजेट निर्माण गरेको विषयमा ‘थप बुझेर छलफल गर्न बोलाइएको’ समिति सचिवालयले जनाएको छ ।

समितिका अनुसार आज बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक भएको र समितिको समयावधि थप गर्ने’ पनि छलफल गर्नुपर्ने भएकाले ‘शर्मासँग मात्रै छलफल गर्न बिहानको समय निर्धारण गरिएको’ हो ।

यसअघि, गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ । छलफलमा सहभागी गराई बयान लिइसकेकामा अर्थसचिव मरासिनी र अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्कर, राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, प्रशासन महाशाखा प्रमुख केदार शर्मा छन् ।

त्यस्तै, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, सूचना प्रविधि हेर्ने उपसचिव ठेकु श्रेष्ठ, राजस्व व्यवस्थापन महाशाखाका उपसचिव सरद निरौला र गोपाल खत्रीसँग पनि समितिले बयान लिइसकेको छ ।

बयानक्रममा उनीहरूमध्ये अधिकांशले यस’ आफूहरूलाई ‘जानकारी नभएको’ भनेर अर्थ मन्त्रालयको बचाऊ गरेका छन् ।

संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।

समितिले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग पनि छलफल गरेको थियो । उनीहरूसँग बयान लिनुअघि समितिले अर्थ मन्त्रालय पुगेर ‘सीसीटभी फुटेज प्रकरण’ जानकारी लिएको थियो ।

समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज ‘रिकभरी’का लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । ‘ल्याबको रिर्पोट के आउँछ ?’ हेर्न बाँकी छ ।

समितिले बुधबार नै प्रकरण’ समाचार लेख्ने सञ्चार गृहका पत्रकारसँग पनि छलफल गरेको थियो । समितिले अन्नपूर्ण पोस्टका पत्रकारसँग छलफल गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

संघीय संसद् सचिवालयमा भएको पत्रकारसँगको छलफलमा ‘समाचार कुन आधारमा लेखिएको हो ?’ भनेर सोधिएको थियो । समितिका एक सांसदले छलफलमा सहभागी पत्रकारले ‘समाचारको स्रोत समितिलाई दिन नमानेको’ बताए । ‘स्रोत खुलाउन सकिन्न भनेका पत्रकारले जे छ, पत्रिकामा छ र हाम्रो स्रोतप्रति हामी विश्वस्त छौं’ भन्ने जवाफ दिएका छन् । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !