७ बैशाख २०८१, शुक्रबार

नेकपा एसको ‘वाम एकता पहल, गठबन्धन त्याग्न एमालेको आग्रह


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले सत्तारूढ कांग्रेससँगको गठबन्धन जोगाउँदै ‘वाम एकता पहल गर्ने’ निर्णय गरेको छ ।

एकीकृत समाजवादी महासचिव डा. बेदुराम भुसालले कम्युनिस्ट पार्टीबीच एकता पहल गर्ने निर्णय भएको बताए । ‘बैठकले विभिन्न चार निर्णय गरेको छ,’ उनले भने, ‘आगामी निर्वाचन सन्दर्भमा वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेका छौं ।’

भुसालका अनुसार निर्वाचन नजिकिएकाले संगठन सुदृढीकरण अभियान तीव्रतासाथ अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, समाजवादीले समाजवादसम्बन्धी दस्तावेज पनि तयार गर्ने भएको छ । बैठकले वर्तमान आर्थिक समस्या प्रस्ताव तयार गर्ने निर्णय पनि गरेको छ ।

उता, एमाले सचिव योगेश भट्टराईले कांग्रेस गठबन्धन त्यागेर एकतामा आउन माओवादी केन्द्र र एकीकृत समाजवादीलाई आग्रह गरेका छन् । अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले मंगलबार गरेको अन्तत्र्रिmयामा एमाले सचिव भट्टराईले ‘तत्कालीन नेकपाका नेता एक ठाउँमा आउनुको विकल्प नभएको’ बताए ।

‘डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोड्नुपर्ने’ बताउदै उनले भने, ‘कसले के ग¥यो भनेर धेरै पछाडि नफर्कौं । कसले के ग¥यो भन्नेमा गयौं भने एकअर्कालाई चिथोर्छौं र घाइते बनाउँछौं । त्यसैले अगाडि कसरी जाने सोचौं । कांग्रेससँगको गठजोडको नर्ककुण्डबाट फर्किनुपर्छ ।’

भट्टराईले ‘स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । गोजीमा अर्को ठेगाना भयो भने अन्त गइन्छ’ भन्दै ‘आजकाल जीपीएस किन लगाइन्छ भने यसले ठीक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरू र समाजवादीले जीपीएस लगाउनुप¥यो । बाटो फर्किनुप¥यो, सँगसँगै हुँदै जाऔं’ आह्वान गरे ।

राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउँदै उनले ‘त्यो वामपन्थी आन्दोलन मात्र भएको’ दाबी पनि गरे । ‘कम्युनिस्ट पार्टीबीच एकीकरण नभई कम्युनिस्ट आन्दोलन जोगाउन सकिँदैन,’ उनले भने, ‘त्यसैले पार्टी एकीकरण आजको आवश्यकता हो ।’ यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !